२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’

धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताउनुभयो ।

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भन्नुभयो,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम सुरु गरेको बताउनुहुँदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताउनुभयो ।

सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहको अध्यक्षतामा आयोजित कम्बल वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताउनुभयो ।

सो अवसरमा सामाजिक विकासको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै स्थानीय जयकिसुन साह, हकिम राईन्, विश्वनाथ दास, लक्ष्मण पाण्डे, अनिता श्रीवास्तव, रामनाथ पाठक, जगदीश साह लगायतलाई सञ्चारमन्त्री साहले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com