२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

जिउँदो सहिद रामबहादुर भण्डारीलाई नेकपाले बनायो,धादिङ निर्वाचन क्षेत्र नं.२ को प्रत्यक्ष उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनमाथि राज्यद्वारा गरिएको दमनको प्रत्यक्ष साक्षी तथा जिउँदो प्रतीक रामबहादुर भण्डारीलाई नेकपाले धादिङ निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ । पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेतृत्वबीच भएको छलफलपछि आन्दोलन, त्याग र बलिदानको इतिहास बोकेको भण्डारीको नाम उम्मेदवारका रूपमा तय गरिएको हो ।

२०६२-०६३ को ऐतिहासिक जनआन्दोलनसहित विभिन्न राजनीतिक संघर्षका क्रममा राज्यको गोली र लाठीले गम्भीर घाइते बनाइएका भण्डारी आज पनि ती घाउ बोकेर बाँचिरहेका छन् । शारीरिक पीडामा बाँधिए पनि उनी कहिल्यै जनसंघर्षबाट पछि हटेनन् । त्यसैले उनी केवल व्यक्ति होइनन्, उत्पीडनविरुद्धको प्रतिरोधको प्रतीक हुन्—एक जिउँदो सहिद ।

भण्डारीको परिवार कम्युनिस्ट आन्दोलनको बलिदानी इतिहासको ज्वलन्त उदाहरण हो । उनका दुई छोरा पनि शोषण र अन्यायविरुद्धको संघर्षमै सहिद भएका थिए । बाबु जिउँदो सहिद र दुई छोरा सहिद भएको यो परिवारले दिएको बलिदानले राज्यको दमनकारी चरित्र र जनआन्दोलनको मूल्य स्पष्ट रूपमा उजागर गरेको छ ।

लामो समयदेखि संगठन निर्माण, सडक संघर्ष र जनसेवामा सक्रिय भण्डारीलाई नेकपाले संघर्षशील, निडर र जनताको पीडाबाट जन्मिएको नेतृत्वका रूपमा मूल्यांकन गरेको छ । पार्टीभित्र उनको उम्मेदवारीलाई सहिद परिवारमाथि भएको ऐतिहासिक अन्यायको प्रतिवाद, आन्दोलनका घाइतेहरूको आवाज र परिवर्तनका मुद्दालाई संसदभित्र बलपूर्वक उठाउने राजनीतिक हस्तक्षेपका रूपमा हेरिएको छ ।

उम्मेदवारीबारे प्रतिक्रिया दिँदै भण्डारीले संसदलाई दलाल र सुविधाभोगीहरूको थलो बन्न नदिने चेतावनी दिएका छन् । “मेरो उम्मेदवारी सत्ताको लागि होइन, सहिदहरूको अधूरो सपना पूरा गर्न, घाइतेहरूको न्याय स्थापित गर्न र श्रमिक–किसानको आवाज सशक्त बनाउनका लागि हो,” उनले स्पष्ट पारे ।

धादिङ क्षेत्र नं. २ मा भण्डारीको उम्मेदवारीलाई लिएर राजनीतिक सरगर्मी चुलिएको छ । जनआन्दोलनको इतिहास बोकेको यो उम्मेदवारीलाई जनताले व्यवस्था बदल्ने संघर्षको निरन्तरताका रूपमा हेरेका छन् भने पार्टी कार्यकर्ता र समर्थकहरू निर्णायक लडाइँको तयारीमा उत्रिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com