२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

रासस । भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।

सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्दशीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने चलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मवादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

प्राचीनकालमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने चलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधू पाउने शास्त्रीय वचन रहेको उनले सुनाए ।

सोमबार राति दर खाएपछि औपचारिकरूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । आज हरितालिकाको व्रत समापनसँगै भक्तजनले गणेशको पूजा आराधना गरी गणेश चतुर्दशी पर्व मनाउँछन् । सत्ययुगमा आजका दिन भगवान् शिव र पार्वतीका पुत्रका रुपमा गणेश भगवान्को जन्म भएको विश्वास गरिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com