२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

फुटको संघारमा लोक तथा दोहोरी गीत प्रतिष्ठान

फुटको संघारमा लोक तथा दोहोरी गीत प्रतिष्ठान

काठमाडौँ । महाधिवेशन नजिकिएसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल फुटको संघारमा पुगेको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा नयाँ नेतृत्वको लागि चुनावी अभियान सुरु भइसकेको छ । तर संस्थाका केही सदस्य भने लोक तथा दोहोरी गीत क्षेत्रको नयाँ संस्था स्थापनाको तयारीमा छन् ।

प्रतिष्ठानको आठौं महाधिवेशन १२ देखि १४ फागुनसम्म धादिङको धादिङबेशीमा आयोजना हुने मिति तय भएको छ । उता वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नेतृत्व रहने गरी प्रतिष्ठानजस्तै अर्को संस्था राष्ट्रिय स्तरमा गठन हुन लागेको हो, जसमा बिष्णु खत्रीले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

विष्णु खत्री प्रतिष्ठानमा पहिले पटक पटक अध्यक्षको उम्मेदवार बनेको र अहिले पनि चर्चामा रहेका व्यक्ति हुन् । तर अहिले उनी नयाँ संस्थाको तयारीमा पनि छन् । आन्तरिक तयारी लगभग सकिएको र आगामी महिना औपचारिक घोषणा हुने खत्री बताउँछन् ।

नयाँ संस्था प्रतिष्ठानको विकल्प संस्था नभएको खत्रीले बताए । ‘हामीले प्रतिष्ठान जस्तो संस्था खोल्न लागेको होइन । सबै अटाउने बृहत् संस्था बनाउन लागेका हौं,’ खत्रीले भने, ‘पहिले प्रतिष्ठानबाट केही गरौंभन्दा दिएनन् । अहिले बोलाएका छन् । अब म करियर दाउमा राखेर प्रतिष्ठानमा जान्न ।’ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै कलाकर्मी अट्ने संस्था आफूले ल्याउन लागेको खत्रीले सुनाए ।

‘राजनीति र भूगोलरहित विशुद्ध कलाकारको एउटा संस्था बनाउन लागेको हो । जसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्छ । नयाँ कलाकारलाई प्लेटफर्म दिन्छ । विश्वमा हाम्रो संस्कृति पहिचान गराउँछ’ खत्रीले अगाडि थपे, ‘विश्वविद्यालय स्तरको संस्था हुनेछ ।’

आफूले खोल्ने संस्थामा प्रतिष्ठानका धेरै मानिस आउनु नौलो कुरो नभएको खत्रीले सुनाए  । ‘तर, यो संस्था प्रतिष्ठानको समानान्तर होइन । त्यो भन्दा बृहत् संस्था हो,’ खत्रीले थपे ।

प्रतिष्ठानमा ३० हजार बढी साधारण सदस्य 

‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ नारासहित प्रतिष्ठानको अधिवेशनको मुख्य उद्देश्य आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने नै हो ।

अधिवेशनमा लोक तथा दोहोरी गीत शुद्धीकरण, संस्थानका सदस्यका हकहितका लागि देखिएका मुद्दाका विषयमा समेत छलफल हुनेछ । ५७ जनाको कायसमिति रहेको प्रतिष्ठानमा अहिले ५ जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ ।

यो महाधिवेशनबाट केही वरिष्ठ उपाध्यक्ष बढाउने विषयमा छलफल र निर्णय हुने प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले बताइन् ।

३० हजार बढी साधारण सदस्य रहेको प्रतिष्ठानको नेतृत्वमा रमेश बिजी छन् । यो बीचमा प्रतिष्ठानले आफूलाई फराकिलो बनाउँदै वाद्यवादनलगायत विभिन्न विधाका क्रियाशीलहरुलाई समेत सदस्य रहन सक्ने प्रावधान बनाएको छ ।

ती विधा कसरी समेट्ने, फाइदा र बेफाइदा लगायतका विषयमा समेत महाधिवेशनमा छलफल हुनेछ । प्रतिष्ठानले महाधिवेशनको विस्तृत जानकारी दिन मंगलबार पत्रकार सम्मेलन समेत गर्दैछ ।

हालसम्म ५७ पद रहेको कार्यसमितिको विभिन्न पदमा आफू आउन सदस्यहरु भित्री छलफलदेखि भेटघाटसम्ममा लागिसकेका छन् । कतिपयले आफू फलानो पदमा उठ्दा कस्तो होला भन्दै सिनियर, जुनियर दुबै तहसँग भेटघाट गर्दै सरसल्लाह गरिरहेको  र राजनीतिक चलखेलमा समेत लागिसकेका छन् ।

‘हामीले प्रतिष्ठान जस्तो संस्था खोल्न लागेको होइन । सबै अटाउने बृहत् संस्था बनाउन लागेका हौं,’ विष्णु खत्रीले भने, ‘पहिले प्रतिष्ठानबाट केही गरौं भन्दा दिएनन् । अहिले बोलाएका छन् । अब म करियर दाउमा राखेर प्रतिष्ठानमा जान्न ।’

अध्यक्षमा क–कसको चर्चा ?

नेपाली कला क्षेत्रका अधिकांश संस्थामा नेतृत्व चयनका लागि सधैँ घम्साघम्सी हुने गर्छ । एक सयदेखि दुई सयसम्म सदस्य रहेको संस्थामा समेत अध्यक्षका लागि तीन वा सो भन्दा बढी दाबेदार हुन्छन् । उदाहरणको रुपमा १७ फागुनमा महाधिवेशन तोकिएको चलचित्र पत्रकार संघलाई लिन सकिन्छ ।

करिब २ सय सदस्य रहेको चलचित्र पत्रकार संघमा आगामी नेतृत्वका लागि अध्यक्ष आकांक्षी ७ र मुख्य दाबेदार तीन देखिएका छन् । तर ३० हजार बढी सदस्य रहेको प्रतिष्ठानमा महाधिवेसन समय नजिकिएपनि अध्यक्षको दाबेदार धेरै देखिएका छैनन् ।

बाहिर चर्चामा आएअनुसार वर्तमान अध्यक्ष रमेश बिजी, वरिष्ठ उपाध्यक्ष रीता थापा र विष्णु खत्री अध्यक्षका लागि भिड्नेछन् । तर आधिकारिक उम्मेदवारी भने हालसम्म कसैले घोषणा गरेका छैनन् ।

अध्यक्षका लागि बाहिर चर्चा भएपनि आफू भने दाबेदार नरहेको वर्तमान अध्यक्ष रमेश बिजी बताउँछन् । ‘एक कार्यकाल (तीन वर्ष) मैले संस्थाको नेतृत्व गरे । कोरोनाको कारण धेरै काम गर्न सकिएन । जति गरेको छु । राम्रो गरेको सबैले भनेका छन्’ बिजीले भने, ‘संस्थामा अव नयाँ नेतृत्व आउनुपर्छ ।’

संस्थामा बिना सेवासुविधा निरन्तर लाग्न अप्ठ्यारो हुने बताएका बिजीले लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्कार र नम्स्लाई आत्मसात गरेर अग्रजको सम्मान गर्दै नेपाली लोक तथा दोहोरीको गरिमालाई बचाई राख्ने नेतृत्वका लागि आफूले पहल गर्ने सुनाए । ‘आफ्नै खर्च गरेर सेवाका लागि तीन वर्ष समय दिनु भनेको चानचुने होइन ।’ बिजीले थपे ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रीता थापा भने नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्छिन् । संस्थाको विभिन्न पदमा रहेर आफूले लामो समय सेवा र अनुभव हासिल गरेकोले संस्थाको अबको नेतृत्व आफूले नै गर्नुपर्ने उनको धारणा छ ।

‘मैले विभिन्न पद हुँदै वरिष्ठ उपाध्यक्ष भएर तीन वर्ष काम गरे । उपाध्यक्षमा फेरि दोहोर्‍यायो भने साथीहरुलाई ठाउँ हुँदैन,’ थापाले भनिन् ‘अबको मेरो ठाउँ अध्यक्ष हो ।’ आफूले नेतृत्व पाए लोक तथा दोहोरी प्रतिष्ठान अझै माथि उठ्ने उनको धारणा छ ।

अर्का उपाध्यक्ष विष्णु खत्रीले भने साथीहरुले आफूलाई अध्यक्षमा ल्याउन चाहेको तर आफू नआउने, दाबेदार पनि नरहेको बताउँछन् । ‘पहिले मैले इच्छा गर्दा साथीहरुले फर्जी मत, विभिन्न जालझेल गरेर हराए,’ खत्रीले भने, ‘अहिले मेरो इच्छा छैन । तर मलाई आउनुपर्छ र ल्याउँछु भनेका छन् ।’ आफू प्रतिष्ठानको अध्यक्षमा नआउने बताएका खत्रीले अर्काे संस्था बनाउन लागेको खुलासा गरे ।

राजनीतिक चलखेल धेरै

पछिल्लो समय सामाजिक होस् वा पेशागत संघसंस्था, जताततै राजनीति घुस्न थालेको छ । जुनैपनि संस्थाको नेतृत्व परिवर्तनको समय राजनीतिक चलखेल देख्न सकिन्छ । आफू निकट ब्यक्ति संस्थाको नेतृत्वमा ल्याउन राजनीतिक दलसमेत सक्रिय हुने गरेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पनि राजनीति घुस्न थालेको आरोप लाग्दै आएको छ ।

‘प्रतिष्ठानमा सबै पार्टीका मानिस छन् । भित्रभित्रै राजनीतिक चलखेल पनि हुने गरेको छ’, हमालले भनिन्, ‘संस्थामा पार्टीगत राजनीति नगर्ने भन्ने भएकाले बाहिर नदेखाएका हुन् ।’

वर्तमान अध्यक्ष रमेश बिजी पनि संस्थामा भित्रभित्रै राजनीतिक चलखेल हुने गरेको स्विकार्छन् । तर अहिलेसम्म प्रतिष्ठानमा बाहिरी रुपमा राजनीतिक गन्ध नआएको उनी बताउँछन् ।

‘बाहिर ननिस्किएपनि भित्रभित्रै कताकता सल्किएको हो कि जस्तो देखिएको छ राजनीति,’ अध्यक्ष बिजीले भने, ‘मानिस आफै राजनीतिक प्राणी हो । उ जहाँ बस्यो, त्यहाँ आफ्नो गुट बनाउने रहेछ ।’ राजनीति गर्नका लागि थुप्रै प्लेटफर्म भएकोले प्रतिष्ठानमा राजनीति नगर्न बिजी अनुरोध गर्छन् ।

‘लोक तथा गीत प्रतिष्ठानको ढोकाबाट छिर्दा कमसेकम राजनीतिको खराउ ढोका बाहिर राखेर छिनु भनेको छु’, बिजीले थपे, ‘हामी धेरै दुःखले जोडिएका हांै । फेरि हामी छरियौ भने जोडिन दुई दशक भन्दा बढी लाग्न सक्छ ।’ बल्लबल्ल एक भएको संस्थालाई  राजनीतिमार्फत् नफुटाउन बिजी अनुरोध गर्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com