२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

रोहित-सन्दीपले खल्लो बनाए स्कटल्यान्डको उपाधि ‘सेलिब्रेसन’

रोहित-सन्दीपले खल्लो बनाए स्कटल्यान्डको उपाधि ‘सेलिब्रेसन

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई स्तब्ध तुल्याएको छ । नेपालले खेल २ विकेटले जितेपछि लिग-२ कै उपाधि जितिसकेको स्कटल्यान्डको सेलिब्रेसन भने खल्लो बनेको छ ।

स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्दै लिग-२ को उपाधि चुमेको हो । स्कटल्यान्डले सर्वाधिक २४ खेलमा जित हात पार्‍यो । यता नेपालले भने शीर्ष ३ मा पुग्ने सम्भावना भने कायमै राखेको छ । नेपालले २८ खेलमा २६ अंक जोडेको छ । नेपालले अब ८ खेल खेल्न बाँकी छ । यस सिरिजमा नेपालले चारवटै खेलमा जित हात पारेको छ ।

मंगलबारको खेलमा २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन तथा करण केसीले ३१ रन बनाए । रोहित र करणले नवौं विकेटका लागि ७५ रनको साझेदारी गरे ।

ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, आशिफ शेखले १२, सन्दीप लामिछाने ९, सोमपाल कामी २, कुशल भुर्तेल १ रनमा आउट भए । स्कटल्यान्डका मार्क वाट्टले ३ र क्रिस ग्रिभ्सले २ तथा साफयान सरिफ, ब्रान्डन म्याकमुलन र माइकल लिस्क १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय १२ रन जोड्यो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६० रन तथा म्याथ्यू क्रसले ४२ रनको योगदान गरे । ब्रान्डन म्याकमुलनले ३१ रन तथा कायल कोएट्जर र क्रिस्टोफर माइकब्राइडले समान २२-२२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा कुशल मल्ल ललित राजवंशीले एक-एक विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com